कला / साहित्य

कथा : सपनाको सौता

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

सपना कसैको निम्ति हिजोको अनुभव होला त कसैको निम्ति भोलिको पूर्वानुमान । तर किन किन मेरो सपनामा भोलि देखिनु भन्दा हिजो नै बढी दोहरिन्छ । एक राती मैले गजबको सपना देखेथेँ । एउटा झ्यालको हरियो पर्दा खुल्यो र गोरो अनुहारको दर्शन भयो । बार्दलीको गमलामा फुलिरहेका फूलमा पानी छर्किरहेकी उनले मतिर हेरी मुसुक्क हाँसिन् । उनको मुस्कानको बदलामा मैले पनि उनको नाम के जप्न खोजेकी थिएँ, अचानक श्रीमतीले सपनामा के बर्बराएको भनी उठाई ।

‘सपनामा के सानी सानी भनी कराइरहनु भएकी ? को हो यो सानी भन्ने ? ’ म एकक्षण श्रीमतीको अनुहारमा टोलाएँ । मौन भएँ । सपनाको कथा उनलाई सुनाउन सकिनँ ।

सपनाको यो पहिलो दर्शन होइन । किन किन सपनामा त्यही गमला ढकमक्क फुल्छ र त्यस्का फूलहरुसित त्यही सुकोमल हातका स्पर्शहरु नाँच्छन् । किन त्यही गोरो अनुहार मेरो सपनामा बारम्वार आउँछ ? म परपुरुष हुँ, कुनै श्रीमतीको श्रीमान् । अझ पनि त्यही अनुहार सपनामा मुस्कुराएर मलाई पथभ्रष्ट बनाउन खोज्छ । भन्न त मैले श्रीमतीलाई केही पनि भनेको छैन । तर, त्यो सपनामा आउने मेरै सपनाकी राजकुमारी थिई जस्ले अझै पनि मेरो सपनामा राजकुमारी बन्न छोडेकी छैनन् । त्यो गमला , त्यस्मा फुलेका फूलहरु र ती फूलसित बैँशालु कानेखुसी गर्ने हरिया चुराहरु मेरो अतीतको हिस्सा हो । जो सपनामा पूनरावृत भएर आउँछ । जस्ले मलाई कमजोर र दुःखी बनाउँदै लगेको छ ।

एक रात त श्रीमतीकै अँगालोमै बर्बराएथेँ सानी भन्दै । निकै रिसाएर बोली –‘ के हो महोदय , अँगालोमा मलाई च्याप्ते तर नाम भने अरुको बर्बराउने ? उस्को नाम जप्नु छ भने शिरानी च्यापेर जप्दा हुन्छ ।’ आधा घुर्की र आधा माया देखाएर शिरानी मतिर फ्याँकेर भित्तातिर हेरेर अँगालोको ढोकामा ताल्चा लगाएको घटना सम्झिँदा म निराश बन्छु ।

त्यस्तो बेला, यस्तो लाग्छ, सपना एउटा किटाब भएको भए , यस्को जम्मै अध्याय च्यातुँ । तर , कहाँ सक्छु र ? हर दिनको एउटा रात , रातको सपना र सपनामा त्यही गमलाका फूल र हातका नृत्यहरु । अनि आफ्नै श्रीमतीको अँगालोलाई घाऊ जस्तै दुखाउने पूर्व प्रेमिकालाई सम्बोधन ।

एकरात श्रीमतीको अनुहार हेरेँ । साह्रै माया लाग्यो । बिरामी थिई । एक शय एक ज्वरोमा पनि सबै लुगाहरु धोएर रातको एघार बजेमात्र कोठामा आएकी थिई । मायालु अनुहार लगाएर मेरो छातीमा आफ्नो शिर बिछयाई । मेरो छाती उस्को निधारको आगोले भतभती पोल्यो ।

‘यति धेरै ज्वरो हुँदा हुँदै पनि किन रातीसम्म लुगा धोएकी ? ’ मैले सोधेँ ।

‘अफिसमा मैलो लुगा मात्र लगाएर गयो भने साथीहरुले हेप्छन् । सुकिलो लुगा लगाएर गए पो स्मार्ट भइन्छ । ’ उसले भनी ।

मैले सोधेँ – ‘ तिमीलाई थाहाँ छ , तिम्रो ज्वरो कति छ ? ’

उसले भनी – ‘ मेरो मतलब छोडनुस् । तपाईको तन्दुरुस्ती नै मेरो तन्दुरुस्ती हो । ’

ऊ मुसुक्क हाँसेर मेरो छातीमा निदाई । म पनि निदाउने खुब प्रयत्न गरेँ तर सकिनँ । रातभरि त्यही डर लागिरहयो कि सपनामा फेरि त्यही गमला फुलेर त्यस्को नाम बर्बराएँ भने ! रातभरि ननिदाई जागै बसेँ । बिहान चार बजे ऊ उठेर गई अनि मात्र थोरै निदाएँ । थाहा भएन, सपनामा गमला फुल्यो कि फुलेन अनि बर्बराएँ कि बर्बराइनँ ।

एक राति फेरि श्रीमतीको अँगालोमा उस्कै नाम जपेर बर्बराएछु । श्रीमतीले रिसाएर भनी –‘ त्यति नै मन पर्छ भने ऊसित बिबाह गर्दा पनि हुन्थ्यो । ’

‘ हाम्रो बिबाह सम्भव भएन । म नेवारको छोरो तर ऊ बाहुनकी छोरी । ’

‘हजुरले मलाई भन्दा उस्लाई बढी माया गर्नुहुन्छ है । ’उस्ले मन दुखाएर सोधी ।

मैले भनेँ –‘होइन, म तिमीलाई नै माया धेरै गर्दछु । तिमी मेरी श्रीमती हौ । श्रीमतीको माया अरु कस्ले खोस्न सक्छ र ? धरोधम तिमीलाई नै माया धेरै गर्छु ।’ मेरो प्रत्युतर सुनेर मायाले गालामा हल्का थप्पड हानी ।

त्यो रात पछि उस्ले मेरो जीवनमा कैले पनि उस्को बारेमा गुनासो गरिन । शायद त्यस पछि पनि मैले सपनामा कैयन पटक उस्को नाम जपेँ होला, कैयन पटक उस्को गालामा चुमे होला अझ ‘सानी, सिरक अलिकता यता देऊ’ भन्दै कैयनपटक बर्बराएँ होला , तर कुनै कुरामा पनि श्रीमती रिसाइन ।अचम्म लाग्छ , अझ पनि सपनामा त्यसरी नै गमला फुल्छ र म बर्बराउँछु । श्रीमती रिसाउँदैन ।

घरको कामको बोझले प्राय बिरामी भइरहने श्रीमतीसँग एक रात किन किन ठट्टा गर्ने झोँक चलेर आयो । मैले सोधेँ –‘ शायद तिमीले सानीलाई बाटामा कहीँ भेटेको भए चिथोरेरै मार्थ्यौ होला, हगि ? ’

उसले हाँसेर भनी –‘सपनाको सौताले के नै पो गर्न सक्छे र ? बिपनामा हजुरलाई भोग्ने त मै हुँ नि । उसले घमण्ड साथ बोली ‘ यस्तो लिपिस्टिक हजुरलाई उस्ले दिन सक्छ र , ओठैमा पर्ने गरी ?’ मेरो ओठमा ओठ दलेर बेसरी हाँसी । म पनि बेसरी हाँसे आफ्नो हाँसोमा मिसाउँदै सपनाको सौता, अनि के के सम्झेर त्यस महान नारीको पाऊमा दुईथोपा आँसु तप्प-तप्प झारें ।