रोचक खवर

अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

काठमाडौं । अब बैंकहरुमा ग्राहकले सुनलाई निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र गरेको छ ।

बिहीबार बैंकहरुका नाममा परिपत्र गर्दै राष्ट्र बैंकले कार्यविधि बनाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाउने घोषणा गरेको थियो ।

यो सुविधा वाणिज्य बैंकमा मात्र उपलब्ध हुने भएको छ । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि भने आफै बनाउन सक्ने छन् ।

कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गर्नुपर्ने प्रावधान राखिएको छ ।

सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गर्न समेत राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ । कम्तीमा ९९५ फिटनेसको सुनमात्र स्वीकार गर्नुपर्ने भएको छ ।