मनोरञ्जन

भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काम रोकेको छ । विदेशमा हुने सबै प्रकारका यस्ता कार्यक्रम रोकिएका हुन् ।

तर, नेपाल भ्रमण वर्षलाई भने के गर्ने भन्ने सम्बन्धमा अझै अन्यौल कायम छ । यही संकेत सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

उनका अनुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको नेपाललाई विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित पारेको हो ।

भ्रमण वर्षका कार्यक्रम तत्कालका लागि स्थागित गर्ने निर्णय भएको छ । तर, यो अभियान के गर्ने भन्नेबारे भने कुनै निर्णय भइसकेको छैन ।

कोरोनाको विश्वव्यापी हल कसरी हुन्छ, त्यसका आधारमा भ्रमण वर्षका कार्यक्रम अगाडि बढाइने उनले उल्लेख गरे ।

बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनका दौरान अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिएको भएपनि अन्य निर्णय नभएको स्पष्ट पारे ।

सरकारले भ्रमण वर्ष लक्षित अन्तर्राष्ट्रिय प्रवर्द्धन रोक्ने निर्णय गरेपनि भ्रमण वर्ष अभियान, भ्रमण वर्ष सचिवालय, यसका पदाधिकारीका सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोनाको संक्रमणसँगै पर्यटक आगमन खस्कने पक्का भएको छ ।