स्वास्थ्य

प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ ।

सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज गर्न सकिन्छ । प्रधानमन्त्रीको बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीको स्वास्थ्य खतरामुक्त र अपेक्षित सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य खतरामुक्त रहेपनि संक्रमणको जोखिम रहने भएकाले अस्पतालमै राख्ने निर्णयमा अस्पताल पुगेको हो ।

प्रधानमन्त्री डिस्चार्ज भएसकेपछि पनि एक महिनासम्म बाहिर जान सक्नेछैनन् । उनले घरमै आराम गरी बस्नु पर्नेछ ।

प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको औषधी चलाइन्छ । प्रधानमन्त्रीले जाउलो खान थालेका छन् ।

उनी दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छन् । उता, प्रधानमन्त्रीलाई मृगा्रला दिएकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।

उनले मामालाई कस्तो छ भन्दै प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राखेकी थिइन् ।