स्वास्थ्य

चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

काठमाडौं । कोरोना भाइरसका कारण सर्वाधिक पिडित चीनले यस भाइरसविरुद्ध खोप तयार भइरहेको जनाएको छ ।

कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान तिब्र भइरहेको र आगामी महिनाबाट आपतकालीन प्रयोगमा उपयोगमा ल्याइने चिनियाँ अधिकारीले जनाएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले यसको जानकारी गराएका हुन् ।

उनका अनुसार खोपका लागि भाइरसबारे व्यापक अनुसन्धान गरिएको छ । भाइरसबारे अनुसन्धान गर्ने र बुझ्ने काम भइरहेको भन्दै उनले सोहीकारण अनुसन्धानमा केही ढिलाई समेत भइरकेको उल्लेख गरेका छन् ।

आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङले दावि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

उनी हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका सरकारी अधिकारी भएको बताइएको छ ।

कोरोना एक अज्ञात भाइरस हो । यो कसरी सर्छ र संक्रमण बढ्छ भन्नेबारे चिकित्सकले यकिन बताउन सकेका छैनन् । मानिसबाट मानिसमा सर्दा कुन माध्यमबाट सर्छ भन्ने समेत यकिन पत्ता लागेको छैन ।

सोहीकारण खोप तयार पार्न समेत चूनौति थपिएको छ । तर यस रोगको संक्रमणबाट संसारभर ३२ सय मानिसले ज्यान गुमाइसकेका छन् ।

करीव १ लाख मानिसमा संक्रमण देखिएको छ । पछिल्लो समय चीनमा संक्रमण र मृत्युको दर कम भएपनि विश्वका अन्य भूभागमा तिब्र रुपमा फैलिएको छ ।