समाचार

ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री

काठमाडौं । कोरोना भाइरसका कारण नाकाबन्दी हुने हल्ला नेपालमा फैलाइएको छ । यसले कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई ठूलो राहत दिएको छ ।

किनकी बजारमा मानिसहरु आत्तिसकेका छन् । कतै २०७२ सालमा जस्तै अभाव भोग्नु पर्ने त होइन ? शुक्रबार यस्तै दृष्य अनामनगरमा देखियो ।

ग्याँस किन्न लामो लाइनमा मानिस बसिरहेका थिए । मानिस ग्याँस सकिएर नभई अतिरिक्त मौज्दाद राख्नका लागि ग्याँस किन्न आएका थिए ।

तर, सरकारले भने ग्याँसको अभाव नहुने भन्दै ढुक्का हुन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइनमा नबस्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।

उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना नै गर्नु परेको छ । उनले हटलाइनको व्यवस्था गरी तत्काल ग्याँस पाउने व्यवस्था हुने भन्दै उपभोग्य सामानको अतिरिक्त जोहो गर्नुपर्ने आवश्यकता नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था हुने भएको छ । उनले घरमा थप सिलिण्डर राख्नु पर्ने आवश्यकता नरहेको भन्दै सबै सामान यथावत रुपमा उपलब्ध हुने आश्वासन दिए ।

नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको समेत उनले स्पष्ट पारे । बजारमा भने नागरिकले सरकारको विश्वास नगरी अतिरिक्त सामान थुपार्न थालेका छन् । यसले बजारमा व्यापारीलाई फाइदा गरेको छ ।