फिचर

वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने

काठमाडौं । नेपाली आन्तरिक वायुसेवा कम्पनीले कर्मचारीको सेवा सुविधा कटौती गर्ने भएका छन् । सेवा सुविधा कटौती गर्नुका साथै बेतलवी बिदामा बस्न समेत प्रोत्साहन गर्ने नीति कम्पनीले लिने भएका छन् ।

कोरोना भाइरसका कारण पर्यटक आगमन ८० प्रतिशतसम्म ओरालो लागेको छ ।

यस अवस्थामा व्यवसाय नचल्ने र खर्च धान्न मुस्किल पर्ने भन्दै व्यवसायीले कर्मचारीको सेवा सुविधा कटौतीको तयारी गरेका हुने । उनीहरुले सरकारसँग बैंकको ब्याजमा सहजिकरण गर्न समेत माग गरेका छन् ।

अब मागको तुलनामा आपूर्तिसमेत धेरै भएका कारण जहाजहरु ग्राउन्डेड समेत गरिने भएको छ । आवश्यक नभएको अवस्थामा सबै जहाज चलाउनुको साटो बन्द गर्न लागिएको वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सचालक संघ (आयोन)ले जानकारी दिएको छ ।

वायुसेवा सञ्चालकहरुले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको बताएका हुन् । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले नेपालका मूख्य पर्यटकीय स्रोत बजार सबैभन्दा बढी प्रभावित भएका छन् ।

त्यसमा पनि संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारभर पर्यटन सेवा नराम्रोसँग प्रभावित भएको छ ।

यसले आन्तरिक वायुसेवा कम्पनीको व्यापार उल्लेख्य घटेको वायुसेवा सञ्चालकहरुको भनाई छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ४ अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् ।

सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको अनुमानका आधारमा यस्तो क्षतिको आंकलन गरिएको हो ।

नजिकिएको बसन्तु ऋतुको पर्यटक बुकिङ समेत धमाधम रद्द भइरहेको अवस्थामा आगामी दिनमा अझै नराम्रोसँग व्यवसाय प्रभावित हुने आंकलन कम्पनीहरुको रहेको छ ।

खासगरी नेपालको स्रोत बजार चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत तथा मध्यपूर्वी मुलुकमा कोरोनाले प्रभाव देखाइसकेको छ ।