समाचार

सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् ।

विश्‍व शान्ति स्थापनामा फौज पठाउने विश्‍वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ ।

१ जनवरी २०२० यता नेपाल चौथो स्थानमा उस्किलएको हो । यसअघि नेपाल पाँचौ स्थानमा थियो ।

अहिले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनामा विभिन्‍न १२ द्वन्द्वग्रस्त देशमा नेपाली सुरक्षाकर्मी खटिएका छन् । नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत गरि कूल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मी शान्ती सेनाका रुपमा विदेशमा सक्रिय छन् ।

नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेको तथ्यांक छ ।

पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन अब्जर्भेसन ग्रुप इन लेबनान मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

हालसम्म १ लाख २९ हजार ८९९ जना सैनिक यो मिसनमा खटिएका छन् ।

नेपाली सेनाबाट १ हजार ४०१ जना महिला शान्ति सैनिकले समेत भाग लिइसकेका छन् । अहिले १८१ जना महिला विभिन्‍न मिशन खटिएको तथ्यांक छ ।