समाचार

प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

राष्ट्रपति सीले दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको सम्बन्ध अझ मजवुत हुनुपर्ने उल्लेख गरेका छन् ।

सम्बन्धलाई गतिशील पार्न र दुई देशका जनताको हितमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको राष्ट्रपतिको भनाई छ ।

प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । उनी अहिले उपचारको सिलसिलामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका छन् ।

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, भूटानी प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले स्वास्थ्य लाभको कामना गर्दै शुभकामना सन्देश पठाइसकेका छन् ।