समाचार

बजार अनुगमनमा निस्किए उद्योगमन्त्री

काठमाडौं । कोरोना भाइरसको त्रासमा उपभोक्ताले बढी सामान किन्ने र व्यापारीले कृतिम अभाव सिर्जना गर्न थालेपछि सरकारले बजार अनुगमन थालेको छ ।

बजारमा अत्यावश्यक सामानको चरम अभाव रहेको उपभोक्ताको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका हुन् ।

वाणिज्य सचिव डबैकुण्ठ अर्यालसहित मन्त्री भट्टको उच्चस्तरीय टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना, खाद्य स्टोर तथा औषधि पसलमा पुगेर बिक्रेता र ग्राहकसँग आपूर्ति अवस्थाबारे बुझेको थियो ।

मन्त्री भट्ट नेतृत्वको टोलीले जावलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाटलगायत स्थानमा स्थलगत अवलोकन गरी उपभोक्ता तथा विक्रेताको समस्या र बजारमा वस्तुहरुको अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्याबारे सरकारको गम्भीर रहेको भन्दै समस्या आफूलाई जानकारी गराउन आग्रह गरेका थिए ।

दैनिक उपभोग्य सामानको अभाव नखड्किने भन्दै उनले उपभोक्तालाई समेत ढुक्क हुन आग्रह गरेका छन् ।