स्वास्थ्य

होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी

काठमाडौं । नेपाल आयल निगमले बिदाको दिनमा समेत ग्यास ढुवानीलाई निरन्तर दिने भएको छ । कोरोना भाइरस त्रिभने र त्यसले नाका ठप्प हुने त्रासका कारण उपभोक्ता अहिले घरघरमा रहेका अतिरिक्त रित्तो सिलिन्डर भर्न लाइन लाग्न थालेका छन् ।

सोहीकारण माग अनुसारको आपूर्तिका लागि बिदाको दिनमा समेत आयात जारी राख्ने निर्णयमा निगम पुगेको हो ।

निगमका अनुसार ठूला सहरमा ग्यासको माग ह्वात्तै बढेको छ । माग अनुसारको आपूर्ति गर्दै उपभोक्ताको त्रास चिर्नसमेत पर्याप्त आपूर्ति गर्नु परेको निगमका अधिकारीहरुले जनाएका छन् ।

निगमले फागुन २६ र २७ मा समेत निरन्तर ग्यास उपलब्ध गराउन भारतीय आयल कर्पोरेसन्सलाई आग्र गरेको थियो ।

नेपालमा सार्वजनिक बिदाका बावजुत निरन्तर ग्यास आपूर्ति हुने भएको छ । दुई दिनमा करिब एक सय बुलेटमा ग्यास आयात हुने भएको छ ।

सरकारलाई सचेत गराउने उद्देश्यले संचरमाध्यमबाट उपभोग्य सामानको चिन्ता गर्दै लेखिएका सामग्रीले अहिले उपभोक्तामा नकारात्मक असर पुगेको छ ।

उनीहरुले अहिले नै त्रास आइसक्यो भन्दै खाद्यान्न तथा ग्यास मौज्दाद राख्न थालिसकेका छन् । सोही कारणमा बजारमा सामानको अभाव देखिन थालेको हो ।