स्वास्थ्य

कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो

काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित देशबाट नेपालमा खाद्यान्न आयात गर्न रोक लगाएको छ । कृृषि तथा पशुपछी विकास मन्त्रालयले कोरोना भाइरसबाट अति प्रभावित पाँच देशबाट पशु, विरुवा र खाद्यवस्तु आयात गर्न नपाउने गरी रोक लगाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट धेरै प्रभावित बनेका चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस प्रदान गर्न बन्द गरिएको हो ।

त्यसो त अन्य प्रभावित मुलुकबाट समेत अब निष्फिक्री सामान आयात हुन नपाउने गरी नियम ल्याइएको छ ।

आयात हुने वस्तुको जोखिम विशलेषण गरी आवश्यकतानुसार क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्र मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था मन्त्रालयले मिलाएको बताएको छ ।

संक्रमित मुलुकबाट आयात इजाजत पत्र नलिई आयात गरिएका त्यस्ता वस्तु तथा खाद्यवस्तुको कन्साइनमेन्टलाई अब नष्ट गरिने भएको छ ।

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न स्थानमा खुलेका क्वारेन्टाइन चेक पोष्टमा विशेष निगरानी गर्न एवं भन्सार तथा सुरक्षा निकायहरुसँग समन्वयमा कार्य गर्न कर्मचारीलाई निर्देशन दिइएको छ ।

मन्त्रालय माताहत पशु क्वारेन्टाइन कार्यालय काकडभिट्टा, विराटनगर, जनकपुर, वीरगंज, काठमाडौं, भैरहवा, नेपालगञ्ज, गड्डाचौकी गरी आठ ओटा पशु क्वारेन्टाइन चेकपोष्ट नेपालतर्फ रहेका छन् ।

भारततर्फ २१ ओटा यस्ता चेकपोष्ट छन् । नेपाल र चीनको सिमानामा तीन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको छ । कोरोनाले सामान आयातका बेला समेत संक्रमण भित्रन सक्न्े डरले सचेतना अपनाइएको मन्त्रालयकोभनाई छ ।