स्वास्थ्य

प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले मंगलबार दिएको जानकारी अनुसार उनको तत्काल डिस्चार्ज नहुने भएको हो ।

उनलाई अझै केही दिन अस्पतालमा राखिने भएको हो । उनी अघिल्लो सोमबार अस्पताल भर्ना भएका थिए । उनको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रधानमन्त्रीले घर जान चाहेको भएपनि उनलाई अस्पतालले भने तत्काल डिसर्ज नगर्ने डा. दिव्या सिंह शाहले जानकारी दिइन् । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् ।

अस्पताल प्रधानमन्त्रीको स्वास्थ्यप्रति विश्वस्त नभएसम्म डिस्चार्ज नहुने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा भने राम्रो सुधार भइरहेको उनले बताइन् । डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले काम गर्न सक्ने र पूर्ण रुपमा फिट हुन भने ६ महिनादेखि एक वर्षसम्म लाग्ने अस्पतालले जनाएको छ ।

डा. शाहका अनुसार प्रधानमन्त्री अब भीडभाडमा जान पाउने छैनन् । साथै उनी रुघाखोकी वा अरु संक्रमण भएकाबाट पनि टाढा बस्नुपर्छ । उक्त अवसरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण रुपमा रुपमा कानूनि भएको दावि अस्पतालले गरेको छ ।