स्वास्थ्य

वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश

वुहान । कोरोना भाइरसविरुद्ध चीन अब झण्डै जीतको नजिक छ । कोरोना भाइरसको उद्गम स्थल पुगेर मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले संसारलाई यही सन्देश प्रवाह गरे ।

कोरोना भाइरस सङ्क्रमण शुरु भएको सहर वुहानमा उनले रोग विरुद्ध भइरहेको कामको अवलोकनमात्र गरेनन्, स्थानीयबासीसँग भलाकुसारी समेत गरे ।

भाइरसको सङ्क्रमणबाट चीनमा मङ्गलबारसम्म ३ हजार १ सय ३६ को ज्यान गइसकेको छ । तर, अब चीनमा नयाँ संक्रमितको संख्या निकै कम भएको छ ।

ज्यान गुमाउनेको संख्यामा पनि उल्लेख्य कमी आएको छ । राष्ट्रपति सीले अतिप्रभावित क्षेत्रको भ्रमण गरी अब चीन कोराना विरुद्ध झण्डै जीत को नजिकै पुगेको सन्देश दिएका छन् ।

राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, ह्वो शन शान अस्पतालको निरीक्षण गरे । क्वारेन्टिनमा बसेका स्थानीयसँग भेटे ।

वुहानमा स्थानीय समुदायले भाइरसविरुद्ध गरिरहेको संघर्षलाई उनले नजिकबाट नियाल्ने प्रयास गरेका छन् ।

उनले स्थानीय नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणमा गरेको अमूल्य पहलका लागि धन्यवाद दिएका थिए ।

वुहानमा नयाँ संक्रमितको संख्यामा कमी आएसँगै अस्पतालहरु बन्द गर्न थालिएको छ ।

सोमबार वुहानमा १६ वटा अस्पताल बन्द गरिएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् ।

चीनमा प्रदर्शनी केन्द्र, रंगशाला, व्यायाम केन्द्रलगायतका खाली जमिनको उपयोग गरी अस्थायी प्रकृतिका अस्पताल बनाइएको थियो । वुहानमा संक्रमित र मृतकको संख्या घट्दै गएपछि जनजीवन सामान्य उन्मुख रहेको बताइएको छ ।

किङघाई प्रान्तमा २ सय विद्यालय संचालनमा आइसकेका छन् । वुहानस्थित टियान्हे विमानस्थल पुनः संचालनको तयारी पुरा भएको छ ।