स्वास्थ्य

कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो ।

सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले कोरोनाविरुद्ध सरकारी तवरबाट भएको तयारीको प्रशंसा गरेका छन् ।

उनीहरुले अझै पनि सूचना प्रवाह र भविष्यमा आइपर्ने संकट समाधानमा सरकारको पहल चुस्त हुनुपर्नेमा भने जोड दिएका छन् । दलका नेतारुले तयारीको काममा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले भने सरकारको तयारीप्रति असन्तुष्टी व्यक्त गरे । बैठकमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपालको समेत उपस्थिति थियो । उद्दपी उनीहरुले भने धारणा राखेनन् ।

कांग्रेसको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री गगन थापा उपस्थित थिए । उनले अहिलेसम्म भएका काम ठिकै रहेको भएपनि भोली संक्रमण आइहाल्यो भने त्यसबाट जुध्न के तयारी छ भन्नेबारे प्रश्न गरेका थिए । बैठकमा नेताहरुले कोरोनाबाट मुलुकको अर्थतन्त्रमा हुने क्षतिको समेत अध्ययन गर्न सुझाव दिएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले कोरोना विरुद्ध लड्न कुनै कसुर बाँकि नराख्ने बताएका छन् । उक्त अवसरमा विभागीय मन्त्रीहरुले आफ्नो मन्त्तालयबाट भइरहेका तयारीबारे ब्रिफ्रिंग गरेका थिए ।

सरकारले कोरोनाविरुद्धको लडाइमा सबै राजनीतिक दल र जनताबाट समर्थन लिन सर्वदलीय बैठक आयोजना गरेको पोखरेलको भनाई थियो ।