समाचार

एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकिकरण भएको छ । पूर्वपञ्चहरु मिलेर गठन भएको राप्रपाको फूट र जूटको श्रृंखला यो पहिलो पटक भने होइन ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकिकरणको घोषणा भएको हो । चार वर्ष अगाडी यसैगरी घोषणासभाबाट एउटै पार्टीमा जोडिएका नेताहरुले पार्टीलाई चीन चोइटा बनाएका थिए ।

तर, बुधबार तीन वटै चोइटा फेरी एकै स्थानमा मिल्न आइपुगेका छन् ।

बुधबार राप्रपाका अध्यक्ष कमल थापाले गीता नै छोएर अब पार्टी नफूटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । २०७३ फागुनमा सम्पन्न एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी अध्यक्षमा निर्वाचित भएको ६ महिना पछि नै पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरेका थिए । बुधबार यी तीन तेता एकै स्थानमा आएर पार्टी एक भएको घोषणा गरेका हुन् ।

यसअघि राणा र लोहनीको पार्टी मिलेर एक बनेको थियो भने कमल थापा एकलै थिए । बुधबारबाट भने पुनः एकपटक नेताहरु एकै स्थानमा आइपुगेका छन् ।

बुधबारको घोाषणा सभामा बोल्दै अध्यक्ष थापाले राप्रपा एक भएकोमा खुसी व्यक्त गरे ।

एकीकृत पार्टीका अध्यक्षत्रय थापा, राणा र लोहनीले हिन्दूको धार्मिक ग्रन्थ गीता साक्षी राखेर पार्टी नफुटाउने प्रतिज्ञा गरेका छन् । यो प्रतिवद्धता कतिसम्म टिक्ला त्यो भने समयले नै बताउने छ ।

एकीकृत राप्रपाले संवैधानिक राजसंस्था र नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयलाई मुख्य मुद्दा बनाउने भएको छ ।

तर, पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा सुनिल थापा भने राप्रपाले राजसंस्थाको माग नछाडेका कारण असन्तुष्ट बने । उनले घोषणासभा नै बहिष्कार गरेका छन् । सूर्यबहादुर थापा अध्यक्ष हुँदा राप्रपाको आफ्नौ महत्व रहेको थियो ।