स्वास्थ्य

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । उनी अब घरमै आराम गर्न सक्ने गरी बुधबार दिउँसो डिस्चार्ज भएकी हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यसको पुष्टी गरेका छन् । उनका अनुसार डिस्चार्ज भएसँगै उनले प्रधानमन्त्रीलाई  भेटेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर समेत बनेकी छिन् ।

भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दान गरेकोमा उनलाई धन्यवाद दिएका थिए ।

अघिल्लो बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीलाई समेत आज नै डिस्चार्जको सम्भावना थियो । तर, उनको स्वास्थ्यमा अझै पूर्ण रुपमा आस्वस्थ हुन चिकित्सकले डिस्चार्जको अवधि लम्ब्याएका छन् ।

चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि निकै राम्रो सुधार भइरहेको छ । यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर केही अनलाइन मिडियाले लेखेको विषयलाई प्रधानमन्त्रीको सचिवालयले कडा खण्डन गरेको छ ।

केही अनलाइनले एकाबिहानै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रेको भन्दै सिंगापुर लैजाने भन्दै समाचार छापेका थिए । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो खबरमा १०१ प्रतिशत सत्यता नभएको स्पष्ट पारेका छन् ।