स्वास्थ्य

पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ ।

चीनबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउने नीति अनुसार यसो गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जनाएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने उद्देश्यले चीनबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु परेको कार्यालयको भनाई छ ।

अहिले पोखरा विमानस्थल धमाधम बनिरहेको छ । त्यहा विशेषज्ञ कर्मचारी चीनबाटै ल्याउनुपर्छ । किनकी यो विमानस्थल चिनियाँ ठेकेदार कम्पनीले नै बनाइरहेको छ ।

चीनमा कोरोना भाइरस फैलिइसकेपछि २० जना पुरानै कामदार र ८७ जना नयाँ कामदार चिनियाँ कामदार नेपाल आएका छन् ।

शुरुमा आएका ३६ जना क्वारेन्टाइनमा बसेर काममा फर्किसकेका छन् । अघिल्लो साता आएका ७१ जना कामदारलाई भने अहिले क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु १४ दिनपछि मात्र फिल्डमा काममा उत्रन पाउनेछन् । चीनदेखि आएका कामदार चीनमै २ हप्ते क्वारेन्टाइनमा बसिसकेका व्यक्ति हुन् ।

तर, कतै संक्रमण नेपालमा नआओस भनेर क्वारेन्टाइनको व्यवस्था गरिएको हो । उनीहरुलाई आफ्नो कोठादेखि बाहिर निस्कन दिइएको छैन । दैनिक स्वास्थ्य परीक्षण गरिएको छ ।