समाचार

आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा निस्कदै छन् । आगामी जुन १९ सम्म प्रधानमन्त्री ओली यूरोपका विभिन्न तीन मुलुकमा पुग्नेछन् ।

प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन समेत गर्नेछन् । जेनेभामा प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्राध्यक्षसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यसपछि प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जानेछन् । बेलायतमा १० देखि १२ जुनसम्म रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग भेट वार्ता गर्नेछन् । अक्स्फोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा १० जुनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

१२ देखि १४ जुनसम्म भने प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।