स्वास्थ्य

नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?

काठमाडौं । सरकारले बिहीबार कोरोनाविरुद्ध भइरहेको तयारी सार्वजनिक गरेको छ । यसअनुसार मुलुक भित्र जुन स्थानमा कोरोना देखिन्छ, त्यो क्षेत्रलाई तत्काल बन्द गर्ने योजना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक गरेको योजना अनुसार देशको कुनै क्षेत्रमा कोरोना भाइरस को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गरिने भएको छ ।

सो क्षेत्रमा अत्यावश्यकबाहेक सबै गतिविधि बन्द गरिने भएको छ । अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना बनाइएको उनले जानकारी दिए ।

कोरोना देखिएमा उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गरिने भएको छ ।

आवश्यकता अनुसार फिल्ड र मोबाइल अस्पताल परिचालनको समेत तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालले समेत कोरोनाविरुद्ध तयारी गरिरहेको मन्त्रालयको भनाई छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारका १ सय २० भन्दा धेरै देशमा फैलिसकेको छ ।

नेपालमा एक जनामा पोजेटिभ पाइएन पनि उनी निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक अहिलेसम्म पोजिटिभ रिजल्ट देखिएको छैन ।

तर,  संक्रमण जुनसुकै बेला देखिन सक्ने भन्दै सचेतना भने बढाइएको छ ।

नेपालले पनि पर्यटकको भिसा बन्द गर्नेदेखि संक्रमित देशबाट आएका नागरिकले क्वारेन्टाइनमा बस्नु पर्ने सम्मका निर्णय गरेको छ । नेपालले भारत र चीनका ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।

नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण भएके छ ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेका छन् । एक जनालाई बुटवलमा आइसोलेसनमा राखिएको छ ।