स्वास्थ्य

प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् ।

उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् ।

समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर, प्रधानमन्त्रीलाई भने अस्पतालले अझै डिस्चार्ज गरेको छैन ।

दोस्रो भिजिटरका रुपमा पत्नी राधिका शाक्यले बिहीबार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टी गरेका छन् ।

बुधबार र बिहीबार पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै समाचार सार्वजनिक भएका थिए ।

चिकित्सकबाट त्यस्तो कुनै संकेत नपाएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नवौं दिन स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित परीक्षणहरु भइरहेको अस्पतालले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो । उनी त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।