स्वास्थ्य

कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

काठमाडौं । नोवल कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ५ हजार नाघेको छ । डिसेम्बर अन्तिम साताबाट फैलिन थालेको यो रोगको संक्रमणले छोटो समयमै हजारौं मानिसको ज्यान लिएको हो ।

३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको भाइरसले शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ हजार ८० जनाको ज्यान गएको छ ।

यो तथ्यांक ३९ देशमा भएको मृत्युको हो । यसमध्ये सर्वाधिक मानिसको ज्यान चीनमा गएको छ । यो भाइरस १३२ देशमा फैलिएको छ ।

चीनमा मात्र ३ हजार १७७ जनाको ज्यान गएको तथ्यांक रहेको छ । चीन बाहिर १ एक हजार ९ सय ३ पुगेको छ । यो भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य महामारी घोषणा गरेको छ ।

संक्रमण देखिएको मध्ये ७० हजार ७ सय १६ जना मानिस निको भएर घर फर्किएका छन् ।

अहिले विभिन्न मुलुकमा ६२ हजार ३६० जना उपचारको क्रममा रहेका छन् । यसमध्ये अब चीनमा मात्र १३ हजार ४८७ कोरोना संक्रमित छन् ।

यहाँ ८० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको अधिकांश निको भएर फर्किसकेका छन् । अहिले चीनमा नयाँ बिरामी देखिन छाडेका छन् भने मर्नेको संख्या समेत नियन्त्रण भित्र आइसकेको छ ।

तर, यूरोप र अमेरिकी मुलुकमा भने तिब्र रुपमा फैलिरहेको छ ।