समाचार

२१४७औं झिवा ल्होछार मनाइयो

न्युयोर्क/अमेरिका
अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा २१४७ औं झिवा ल्होछार मनाएका छन् ।
तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिकाको
आयोजनामा झिवा ल्होसार मनाइएको हो । ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत साता ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित झिवा ल्होछार साँझ मनाइएको थियो ।
ढोक्प्या समुदायका औतरी लामा लोब्साङ खेटुक र लामा कासाङ छोम्वेले संयुक्त रुपमा वौद्घ धर्म परम्परा अनुसार पुजापाठ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले नेपालको संघीय प्रणाली पहिचानको आधारमा हुनुपर्ने र नेपालको सामाजिक, भाषिक, संस्कृतिक र समुदायगत विविधता अनुसारको राज्य संरचना, संविधान र ऐन कानुन निर्माण हुनुपर्ने बताए । उनले वर्तमान सरकार आदिवासी जनजातिहरुको आवाज सुन्नै नचाहाने र देशको सुन्दर विविधतालाई तहसनहस पार्न अग्रसर भइरहेको आरोप लगाए । अधिकारका लागि आदिवासी जनजातिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
उनले अहिले संयुक्त राज्य अमेरिका राट्रिय जनगनाणाको संघारमा भएको हुँदा सबै नेपालीहरुले राट्रिय जनगनाणामा गम्भीर भएर सहभागिता हुन आह्वान गरेका छन् ।
किदुकका सल्लाहकार डण्डु ढोक्प्याले नेपालमा आदिवासी जनजातिहरुले पहिचानको मुद्दालाई निरन्तर उठान गरिरहेको, प्रदेशहरुको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र प्रदेशभित्र अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वशासन सहितको स्वायत्त क्षेत्रहरु हुनुपर्ने मागलाई निरन्तर उठान गरिरहेको बताए ।
प्रवासमा रहेका आदिवासी जनजाति लगायत आम नेपाली समुदायले पुस्तौ पुस्तासम्म आफ्नो पहिचान कायम राख्न आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ढोक्प्याले अमेरिकामा ढोक्प्या समुदाय थोरै संख्यामा भए पनि संस्था गठन गर्न सफल भएको र संस्था गठन भएदेखि नै ल्होछार लोसार साँझ कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले लोसार साँझ कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गरे । कार्यक्रममा नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरसहितको टोलीले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु दिएर सहभागीलाई मनोरञ्जन गराएको थियो । कार्यक्रममा ढोक्प्या समुदायको परम्परागत स्याब्रु नाच प्रस्तुत गरिएको थियो ।