स्वास्थ्य

कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल

वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ । संगठनले अब कोरोनाको इपीसेन्टर यूरोप भएको समेत घोषणा गरेको छ । किनकी चीन यो संक्टबाट माथि उठिसकेको छ ।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्ने भएको छ । केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्ने राष्ट्रपति ट्रम्पको भनाई छ ।

आगामी साता अमेरिकाका लागि महत्वपूर्ण रहेको भन्दै उनले कोरोना नफैलिन सचेत रहेका समेत उल्लेख गरे । उनले सरसफाईमा ध्यान दिन, आवश्यक काम नपरेसम्म घरबाहिर नजान समेत सर्वसाधारणलाई सचेत गराएका छन् ।

यसअघि अमेरिकाीले यूरोपबाट हुने सबै उडान बन्द गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म कोरोनाबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् । ५ हजार जनाको ज्यान गएको छ ।