विश्व

आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने

काठमाडौं । आज सार्क क्षेत्रका सरकार प्रमुखहरु भिडियो वार्तामा जोडिने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क मुलुकका सबै सरकार प्रमुखहरु एक आपसमा भिडियो वार्ता गर्न लागेका हुन् ।

खासगरी कोरोना भाइरसको संक्रमणबाट बच्न साझा रणनीति बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले यस्तो प्रस्ताव गरेका थिए ।

आइतबार साँझ सार्क क्षेत्रका नेताहरु भिडियो वार्तामा जोडिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले छलफल गर्ने कार्यालयको भनाई छ ।

आइतबार साँझ हुने वार्तामा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिने भएका छन् । उनी अस्वस्थताका वावजुत वार्तामा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा ओली उपस्थित हुनेछन् ।

भिडिओ कन्फरेन्समा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।

अहिले सार्कको अध्यक्ष नेपाल छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै मोदीको प्रस्तावको टुइटमार्फत स्वागत गरेका थिए ।