स्वास्थ्य

भिडियो वार्तामा सार्क मुलुकका नेता, 'कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव

काठमाडौं । कोरोनाले प्रभावित बन्दै गएको सार्क क्षेत्रमा यस संक्रमणविरुद्ध सामूहिक रुपमा लड्न नेताहरु सहमत भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुबीच भिडियो वार्ता सम्पन्न भयो ।

वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए । यस भिडियो वार्तामार्फत भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापनाको प्रस्ताव गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव राखे । उनले यस कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा समेत गरेका छन् ।

अन्य देशबाट स्वेच्छिक रुपमा योगदान गर्न सक्ने उनको प्रस्ताव छ । यस कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने उनले प्रस्ताव गरेका छन् ।

यस प्रस्तावसँगै भारतीय प्रधानमन्त्रीले सार्कको साझा नेताका रुपमा उभ्याउन आफूलाई सफल भएका छन् ।

भारतले विशेषज्ञ र डाक्टर संलग्न ¥यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको समेत उनले जानकारी दिए । भारतीय प्रधानन्त्री मोदीले कुनै देशलाई आवश्यक भए सहयोग गर्न भारत तयार रहेको उल्लेख गरे ।

वार्तामा आपतकालीन कोष बनाउने मोदीको प्रस्तावको सबै मुलुकले स्वागत गरे । अन्य मुलुकबाट रकमको घोषणा भएको छैन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैले कोरोनाबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नु पर्ने बताए ।