स्वास्थ्य

प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् ।

उनका अनुसार अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल भइरहेको छ ।

स्थल नाकामा स्वास्थ्य विन्दु स्थापना गरिएको छ । अहिले भारतसँग नेपालका चार वटा नाकामात्र खुला भएका छन् । अन्य नाका बन्द छन् ।

तेस्रो मुलुकका नागरिक त्रिभुवन विमानस्थलबाट मात्र नेपाल छिर्न पाउँछन् । विमानस्थलबाट आएका सबै व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा राखिने भएको छ ।

तर, उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्नु पर्छ । होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गरिने छ ।

लक्षण देखिएमा अस्पताल लैजाने र रिपोर्ट पोजेटिभ आए सबै उपचार सरकारले गर्नेछ । उनका अनुसार कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको परीक्षा ५ चैतमा सकिनेछ । त्यसपछि विद्यालय एक महिना बन्द हुनेछन् ।