समाचार

वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ ।

आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिक नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि निरन्तर धर्ना बस्दै आएका थिए ।

समाजले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समक्ष धर्ना अन्त्य भएको जानकारी गराएको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला २४ फागुन २०६९ मा समाजले धर्ना शुरु गरेको थियो ।

समाजले ६० वर्ष उमेरमै मासिक रु पाँच हजार भत्ता पाउनुपर्ने, सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नारिकलाई आरक्षण सिटसहित ५० प्रतिशत छुट हुनुपर्ने, औषधोपचारमा सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालले ५० प्रतिशत छुट गर्नुपर्नेजस्ता माग राख्दै आन्दोलन गर्दै आएको थियो ।