समाचार

बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो ।

निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले १० बजे सडकमा अति धेरै ट्राफिक जाम हुने गरेको छ ।

मन्त्रालयले आइतबार स्कूलहरु ९ बजे नै संचालन गर्ने सम्बन्धमा निजी विद्यालय सञ्चालकका प्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलमा मन्त्रालयले विद्यालय सञ्चालनको समय परिवर्तनको प्रस्ताव गरेको हो ।

अहिले १० बजेबाट ५ बजेसम्म स्कूल चल्ने गरेका छन् । छलफलमा निजी तथा आवासीय विद्यालय एसोसिएशनका प्रतिनिधीले सरकारको प्रस्तावका सम्बन्धमा संघभित्र छलफल गर्नुपर्ने बताएका थिए ।

सामुदायिक विद्यालयसहित सबै विद्यालय एकै समयमा खुल्ने नीति ल्याउनु पर्ने उनीहरुको भनाई छ ।

काठमाडौँमा स्कूलले विद्यार्थी ओसार्दा सडकमा एकसाथ धेरै बस निस्कन्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

सरकारले अब नजिकको स्कूलमा मात्र विद्यार्थीलाई पढाउने अविभावकलाई प्रोत्साहित गर्ने गरी नयाँ समय अगाडी सारेको हो । यसले बसले यात्रु बोक्ने बाध्यता कम हुनेछ ।