समाचार

धरहराको १० औं तला ढलान यसै साता

काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलान यसै साता हुने भएको छ ।

धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी गरिएको छ ।

अहिले धरहरा तिब्र गतिमा निर्माण भइरहेको छ । सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरे ।

सोही अवसरमा श्रेष्ठले १० औं तला ढलानको तयारी भइरहेको जानकारी गराए ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए-तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठका अनुसार तोकिएको समयमा सम्पन्न हुने उल्लेख गरे ।

उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

यी दुई सम्पदा काठमाडौं उपत्यकामा निर्माण भइरहेको महत्वपूर्ण सम्पदा हुन् ।