डायस्पोरा

कोरानाको कारण नेजाको अबिधेशन स्थगित

न्यूयोर्क/अमेरिका
आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा केही समयका लागि स्थगित गरिएको छ ।
पछिल्लो समय अमेरिकामा फैलिएको कोरोनो भाइरसका कारण दैनिक जनजीबन नै अस्तब्यस्त बन्न थालेपछि यस्तो अवस्थामा अधिवेशन गर्न नसकिने निर्णय गर्दै केही समयलाई स्थगित गरिएको हो ।
नेजाको सल्लाहकार र कार्यसमिति सहितको आइतबार बसेको कन्फ्रेन्स कल बैठकले कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्वीकृति प्रदान नगरेसम्मको लागि स्थागित गरेको हो ।
बैठकपछि नेजाका महासचिब किरण मरहठ्ठाले प्रेस बिज्ञप्ती जारी गर्दै अमेरिकी सरकारले न्यूयोर्कमा संकटकाल घोषणा गरिसकेको र सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको अवस्थामा अबिधेशन गर्न नसकिने जनाएका हुन् । यस्तो अवस्थामा अबिधेशन गर्नु उचित हुन्छ कि हुँदैन भन्ने बिषयमा आइतबार बिहान कार्यसमितिका सदस्य र नेजाका सल्लाहकारहरुको आकस्मिक बैठक बसेको थियो ।
नेजाको अधिबेसन मे महिनाको २ र ३ तारिक न्यूयोर्कमा गर्ने गरि सबै तयारीहरु भइरहेको अवस्थामा यस्तो निर्णय गर्न कार्यसमिति वाध्य भएको हो । कोरोनाको कारण अमेरिकामा सरकारले संकटकाल घोषणा गरि न्युयोर्कको सबै विद्यालय र कलेजहरु समेत रोग नियन्त्रणमा नआउन्जेलसम्मको लागि बन्द गरिसकेको छ । परिस्थिति अनुकुल हुने बित्तिकै बैठक बसी अधिवेशनको मिति तोक्ने निर्णय भएको छ ।
प्रतिकुल परिस्थितिका कारण अधिबेसन स्थगित गरेपनि नयाँ सदस्यता दर्ता गर्ने म्याद मार्च महिनाको १५ तारिखको राती १२ बजेसम्म मात्रै भएको बिज्ञप्तीमार्फत जानकारी गराएको छ । साधारण सदस्यहरुका लागि सदस्यता नबीकरणको म्याद भने मार्च ३१ तारिखसम्म राखिएको जनाएको छ ।