समाचार

प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

जनकपुर। प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तय गर्न आज मतदान हुँदैछ । सोही प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । यस प्रदेशको नाम र राजधानी मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी रहेको छ ।

मतदान अगाडी सांसदले बोल्ने समय पाउनेछन् । छलफल पछि मतदान हुने प्रदेश संसद सचिवालयको कार्यतालीकामा उल्लेख छ ।

प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहनेछ । यसलाई सभाले अनुमोदन गर्नेछ । तर, नाममा भने सहमती हुन सकेन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार दलले तीन वटा अलग–अलग नामको प्रस्ताव गरेका कारण हमति जुटेको छैन ।

सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’को प्रस्ताव संसदमा दर्ता गरेका गरेका छन् ।

नाममा सहमति जुटाउन निकै प्रयास भएपनि त्यसो हुन सकेन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक हुन्छ । प्रदेशमा कुनै पनि दलसँग दुई तिहाई बहमुत छैन ।

सोहीकारण कुनै एक दल, अर्को दलको नामसँग मिल्नु पर्ने हुन्छ । प्रदेश नं. २ मा १ सय ७ सांसद छन् । समाजवादी पार्टीसँग ३०, राजपा नेपालसँग २५, प्रमुख प्रतिपक्षी नेकपासँग ३२ र काँग्रेससँग १९ सीट रहेको छ ।

संघीय समाजवादीको एक सिट छ । प्रदेश नं २ ले आज नाम र राजधानीमा टुंग्याएमा नाम र राजधानी तोक्न बाँकि दुई प्रदेश मात्र रहनेछन् । प्रदेश नं ५ र प्रदेश नं १ ले नाम र राजधानी टुंग्याउन सकेका छैनन् ।