घूमघाम

नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेश रोकेको छ । त्यसपछि नेपाल एयरलाइन्सले क्वालालाम्पुरको नियमित उडान रोक्ने निर्णय गरेको हो ।

क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ ।

२०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

मलेसियाले दुई साता विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने र मलेसियाका नागरिकलाई पनि विदेश भ्रमणमा नजान सूचित गरेको छ ।

पछिल्ला दिनमा नेपाल एयरलाइन्सले आफ्नो अधिकांश गन्तब्यको उडान कटौती गर्नु परेको छ । यसले कम्पनीलाई मूख्य सिजनमै ठूलो घाटा लाग्ने निश्चित देखिएको छ ।