स्वास्थ्य

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत अब नपाइने भएको छ ।

यता, होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने नियम ल्याउँदै सरकारले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने बताएको छ ।

सर्वसाधारणसँग सरकारले समेत भीडभाड गरी यात्रा नगर्न आग्रह गरेको छ ।

समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिक महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने निर्णय समेत गरेको हो । सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।

बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

सपिङ मलमा स्यानिटाइजर अनिवार्य गर्न भनिएको छ । होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकले हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरिएको छ ।

टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्नु पर्ने भएको छ । तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय गरिएको छ ।