स्वास्थ्य

इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटलीमा कीर्तिमानी संख्यामा मानिसको ज्यान गएको छ । बुधबार यहाँ एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।

कोरोना फैलिएयता एकै दिन धेरै मानिसको ज्यान बुधबार गएको हो । संचारमाध्यमहरुका अनुसार इटलीको लोम्बार्डीमा ३ सय १९ जनाको ज्यान गएको छ । बाँकी अन्य क्षेत्रका संक्रमितको मृत्यु भएको बताइएको छ ।

लोम्बार्डी इटलीको मूख्य प्रभवित क्षेत्र हो । बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । इटलीले झण्डै चीनमा जति मानिस गुमाइसकेको छ ।

थप २ सय ५९ जनाको निधन भएमा चीन र इटलीमा बराबर मानिस मर्छन् । तर, चीनमा भने बुधबार बुहान राज्यमा शून्य संक्रमित भएका छन् ।

यसअनुसार चीनले कोरोनामाथि पूर्णतया सफलता हाँसिल गर्न सफल भएको छ ।

सोहीकारण चीनले बुहानबाट ठूलो संख्यामा चिकित्सकहरुलाई आआफ्नो क्षेत्रमा बिदाई समेत गरिसकेको छ ।

इटलीमा ३५ हजार ७ सय १३ मानिसमा यो रोगको संक्रमण फैलिएको छ । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेनमा १०५ र इरानमा १०७ जनाको मृत्यु भएको छ । स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३८ पुगेको छ ।

फ्रान्समा बुधबार ८९ जनोका ज्यान गएको छ ।