फिचर

नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ ।

कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ ।

यी दुई गन्तब्यको उडान चैत मसान्तसम्म स्थगित गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।

यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने कम्पनीले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत नेपाल एयरलाइन्सको विज्ञप्तीमा उल्लेख छ ।