समाचार

ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् ।

यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कुनै पनि ढुवानीका साधन रोकिने छैनन् । यसले बजारमा सामानको आपूर्ति रोकिने छैन ।

जहाज बन्द भएपछि हुने कठिनाइका सम्बन्धमा पनि विशेष व्यवस्थामार्फत व्यवस्थापन गरिने भएको छ । जहाज बन्द हुँदा विमानस्थलमै अलपत्र परेका नेपाली तथा विदेशी यात्रुलाई सम्बन्धित दूतावाससँगको समन्वयमा क्वारेन्टाइनमा राख्ने गरी व्यवस्थापन मिलाउने भएका छन् ।

सरकारले कोरोनाको संक्रमण भित्रन नदिन व्यापक तयारी गरेको उनले जानकारी दिए । भित्रिहालेमा समेत प्रभावकारी उपचारको व्यवस्थापन हुने उनको भनाई छ ।

संसारका अधिकांश मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना नेपालमा भने देखा परिसकेको छैन । तर, सरकारले तयारीको काम तिब्र बनाएको छ ।