स्वास्थ्य

भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो

काठमाडौं । सरकारले कोरोना भाइरसको संम्भावित संक्रमणविरुद्ध लड्न भारत र चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ। चीन सरकारले नेपालसँग आवश्यक सामग्रीको सूचि नै मागेको थियो ।

सोही अनुसार सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री १ लाख ६० हजार थान मगाएको छ ।

जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामग्री ५ लाख वटा मगाइएको छ । भाइरसको नमुना संकलन गरेर पठाउने थैली समेत १ लाख थान नेपालले मगाएको छ ।

मोनिटर सहितको भेन्टीलेटर १ सय वटा, ल्याब सहितको मोबाइल एम्बुलेन्स १० वटा, मोबाइल एम्बुलेन्स ५ वटा ,रगतमा अक्सिजनको मात्रा देखाउने मेसिन २० वटा, अक्सिजन प्लान्ट ५ वटा समेत मगाइएको छ ।

इन्ट्युबेटिङ सेट २ हजार वटा, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार र सर्जिकल पञ्जा २ लाख वटा मगाएको स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । चीनबाट १९ प्रकारका स्वास्थ्य समाग्री र उपकरण मगाइएको हो ।

भारतबाट १६ प्रकारका स्वास्थ्य सामाग्री तथा उपकरण मगाइएको मन्त्रालयले जनाएको छ ।

यसमा विभिन्न खालका व्यक्तिगत सुरक्षा सामाग्रीहरु १ लाख ६० हजार वटा, एन ९५ मास्क १ लाख ५० हजार वटा, इन्फारेड थर्मोमिटर १० हजार थान, अक्सिजन प्लान्ट ५ थान रहेका छन् ।

भारतबाट ३ सय किलो बराबरको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार र सर्जिकल मास्क २ लाख वटा मगाइएको छ।

नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि सरकारले यसविरुद्ध तयारी भने व्यापक पारेको छ ।