फिचर

के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रबासी शरणार्थी अमेरिका प्रवेशमा कडाई गर्न मेक्सिकोलाई दवाब दिँदै आएको छ। सोहीकारणले उसले मेक्सिकोविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइरहेको थियो ।

त्यसै क्रममा सोमबारदेखि अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो। मेक्सिकोबाट हरेक बर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात हुन्छ । यो मेक्सिकोको अर्थतन्त्रका लागि ठूलो बजार पनि हो ।

तर, दुई देशका प्रतिनिधिबीच आप्रबाससम्बन्धी समस्या समाधान गर्ने सम्बन्धमा समझदारी भएको छ । यससँगै अमेरिकाले बढाउने भनेको कर वृद्धिको निर्णय पनि तत्काल लागु नहुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट गर्दै यसको जानकारी समेत गराएका छन् । उनका अनुसार मेक्सिकोले व्यवहारिक रूपमा आप्रबासी नियन्त्रणसम्बन्धी बिषयलाई कार्यान्वयनमा लाने प्रतिवद्धता गरेपछि दुई देशबीच सहमति सम्भव भएको हो र सोमबारदेखि हुने भनिएको कर वृद्धि पनि टरेको हो ।

मेक्सिकोले अन्तिम समयसम्म पनि आप्रवासीबारे चलिरहेको बहसमा अमेरिकालाई सहयोग गर्न तयार भएको बताइएको छ ।

शुक्रबार राति घोषणा भएको सम्झौतामा मेक्सिकोले आप्रबासीलाई हिंसाग्रस्त ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट आप्रबासी शरणार्थीलाई फर्काउने बिषयमा आफ्नो नीतिलाई परिवर्तन गर्न स्वीकार गरेको छ ।

अमेरिकाले यस अघि अमेरिका पुगी शरणार्थीका लागिको दावी गरिसकेकाको हकमा प्रक्रिया अघि बढाउने सहमति भएको समाचार स्रोतहरुले उल्लेख गरेका छन् ।
एजेन्सी