विश्व

नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

काठमाडौं । नेपालबाट कतार एयरवेजले एकै दिन ६ सय भन्दा बढी यूरोपेली नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । नेपालस्थित सम्बन्धित मुलुकका दूतावासको पहलमा यूरोपका नागरिकलाई उनीहरुको घर फर्काइएको हो ।

शनिबार कतार एयरवेजका दुई वटा विमानले नेपालमा पदयात्रामा आएका नागरिकलाई फिर्ता लगेको हो । शनिबार बिहान एक घण्टाको फरकमा दुई वाइडबडी जहाज उडेका थिए ।

ति जहाजले ३ सय ३ र ३ सय ५ जना गरी कूल ६ सय ८ जना यूरोपेली मुलुकका नागरिकलाई नेपालबाट फिर्ता लगिएको हो ।

नेपालबाट स्वीडेन, जर्मनी र फ्रान्सका पर्यटक फिर्ता गएका छन् । यसअघि शुक्रबार समेत कतार एयरवेजले ३ सय ५ जना पर्यटकलाई फिर्ता लगेको थियो ।

अकस्मात घोषित लकडाउनका कारण सयौं पर्यटक नेपालमा अलपत्र परेका थिए ।

यसअघि शनिबार बिहानैबाट आन्तरिक उडानका जहाजले पोखरा र लुक्लाबाट यात्रुलाई काठमाडौं ल्याएका थिए ।

नेपाल एयरलाइन्सले मात्र लुक्लामा शनिबार ५ उडान गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले नेपालमा लकडाउन घोषणा गरेको हो ।