फिचर

न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य 'क्वारेन्टाइन' को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा लगाउने भनेको अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटेका छन् । ह्वाइट हाउस स्थित कोरोना भाइरस टास्कफोर्सको सुझाव एवं सम्बन्धित राज्यका गभर्नरहरुसँगको परापर्श पछि उक्त निर्णयमा पुगेको ट्रम्पले ट्विट मार्फत जनाएका हुन् ।

ट्रम्पको उक्त निर्णय पश्चात सेन्ट्रल अफ डिजिज कन्ट्रोल (सिडिसी) तीन राज्यका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । जस अनुसार तीन राज्यका नागरिकहरुलाई अत्यावश्यक बिना आगामी दुई साता देशका अन्य भेगमा भ्रमणका लागि ननिस्किन अनुरोध गरिएको छ । यो ट्राभल एड्भाइजरी ट्रक मार्फत ढुवानी, वित्तिय सेवा, खाना ढुवानी लगायत बिभिन्न अत्यावश्यक क्षेत्रमा काम गर्ने कम्पनीका कर्मचारीको हकमा लागु नहुने पनि सिडिसीले प्रष्ट पारेको छ । ट्रम्पले शनिबार साँझ गरेको ट्विटमा सिडिसीले जारी गरेको ट्राभल एड्भाइजरी कार्यान्वयनका लागि सम्बन्धित राज्य सरकारले अनुगमन गर्ने उल्लेख गरेका थिए ।

शनिबार बिहान पत्रकारहरुसँग बोल्दै ट्रम्पले आफ्नो सम्भावित कदमको जानकारी गराएका थिए । ‘केही मान्छेहरुले न्यूयोर्क भाइरसको हटस्पट रहेका कारण क्वारेन्टाइनमा राख्नु पर्ने बताएका छन्, ट्रम्पले भनेका थिए , न्यूयोर्क सहित न्यू जर्सी र कनेक्टीकटका केही भेगका लागि उक्त घोषणा हुन सक्छ ।’

तर, न्यूयोर्क गभर्नर एन्ड्रु कुम्मो ट्रम्पको यो तयारीसँग सहमत थिएनन् । शनिबार बिहान पत्रकार सम्मेलनमा आफुलाई यसबारे जानकारी नभएको समेत कुम्मोले बताएका थिए ।

साथै उनी सुरु देखिनै नागरिकलाई हिँडडुलमै बन्देज लगाउने गरी ‘क्वारेन्टाइन’ आदेशको बिपक्षमा थिन् । पत्रकारहरुको प्रश्नमा ट्रम्पलाई पनि उक्त आदेश जारी गर्ने कानूनी अधिकार नभएको कुम्मोले बताएका थिए । अहिले घोषित ‘सोसल डिष्टेन्स’ र ‘स्टे एट होम’ आदेशकै निरन्तरताले नागरिकको न्यूनतम मौलिक हक पनि हनन नहुने र भाइरस विस्तार पनि घटि रहेको उनको ठम्याइ छ ।

अमेरिकामा घरबाट निस्किन नपाउने बाध्यकारी नियम लागु गर्न सरकारलाई तुलनात्मक रुपमा कठिन नै पर्छ । संविधानले नै नागरिकको न्यूनतम हक खोस्न बन्देज लगाएका कारण लोकतान्त्रिक विधीबाटै समाधान खोज्नु पर्नेमा अधिकांश जनप्रतिनिधीको मत रहँदै आएको छ ।

अमेरिकामा शनिबार साँझसम्म दुई हजार बढिले ज्यान गुमाइ सकेका छन् भने संक्रमितको संख्या सवा लाख पुग्न लागेको छ । दैनिक २० हजार हाराहारी नयाँ रोगी थपिइ रहेका छन् भने मृतकको संख्या तीन दिनमा दोब्बर भइ रहेको छ । सबैभन्दा धेरै न्यूयोर्कमा ५२ हजार संक्रमित छन् भने सात सय बढिले ज्यान गुमाइ सकेका छन् । दोस्रो स्थानमा रहेको न्यू जर्सीमा ११ हजार बढि संक्रमित छन् भने १४० को मृत्यु भइ सकेको छ । अझै पनि केन्द्र सरकारले चाहिएजति स्वास्थ्य उपकरण उपलब्ध गराउन नसकेको गुनासो राज्य एवं स्थानीय सरकारहरुले गर्दै आएका छन् । सुरुमा कोरोना भाइसरले अमेरिकालाई असर नपर्ने दावी गर्दै आएको राष्ट्रपति ट्रम्प प्रशासन अहिले गम्भिर देखिए पनि रोगको प्रसार कम भएको छैन ।