समाचार

अमेरिकाको अवस्था अत्यासलाग्दो : यद्यपी साथमा केही शुभ समाचार

न्युयोर्क

आइतबारसम्म न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या ५९ हजार नाघेको छ भने ९ सय ६५ को न्युयोर्क राज्यमा मात्र मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ सय ३७ जनाको मृत्‍यु भएको छ । न्युयोर्कस्थित गभर्नर कुमोले आगामी अप्रिल १५ तारिखसम्म अत्यावश्यक काम नभई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै आएका छन् ।  राज्य भित्रका बिभिन्न्न भागमा फरक फरक समयमा संक्रमितको चाप उच्च बिन्दुमा पुग्ने र कृटिकल भेन्टिलेटर एवम् अस्पताल बेडको संकट परेको अवस्थामा राज्य भित्रका सबै अस्पतालले एक अर्कामा समन्वय गर्दै काम गर्नु पर्ने समेत कुमोले बताएका छन् ।  

मेयर ब्लाजियोले पनि न्युयोर्क शहरका अस्पतालमा अर्को सप्ताहन्त पछाडि मेडिकल सामग्री रित्तिने बताएका छन् ।  

आइतबारसम्म न्युयोर्कस्थित ७ सय प्रहरी अधिकृतहरु संक्रमित भएको र २९ जना प्रहरी अधिकृतको मृत्‍यु भएको ल इन्फोर्समेण्ट अधिकारीले जनाएका छन् । शनिबार हार्लमस्थित ३२ प्रिसेन्टमा कार्यरत ५० वर्षीय एक गुप्तचर अधिकृतको मृत्‍यु भै सकेको छ ।  

बिरामीको संख्या यही अनुपातमा बढ्दै जाने हो भने अमेरिकाभरका अस्पतालमा भेन्टिलेटर, अस्पताल बेड तथा उपचार सामग्रीको संकट पर्ने छ । देशभर १ लाख ४१ हजार संक्रमित भै सकेका छन् भने २४ सय ५७ को मृत्‍यु भै सकेको छ ।  

शुभ समाचार : न्युयोर्क शहरको पहिलो बिरामी वकिल घर फर्किए 

न्युयोर्क राज्यमा संक्रमितको संख्या ५९ हजार पुगेको र थुप्रैले संक्रमणको कारण ज्यान गुमाए पनि न्युयोर्क शहरको पहिलो संक्रमित (जिरो पेसेन्ट) वेस्ट्चेस्टरस्थित कानून ब्यवसायी पूर्णरुपमा स्वास्थ्यलाभ गरी घर फर्किएको पनि गभर्नर कुमोले बताएका छन् । वेष्टचेस्टरमा बसोबास गर्ने ५० बर्षीय कानून ब्यवसायी लरेन्स गर्बुज न्युयोर्क शहरको पहिलो कोरोना संक्रमित भएको हुँदा गभर्नर कुमोले “जिरो पेसेन्ट” को नाम दिएका छन् । उनीको म्यानहाटन मिड्टाउनमा ल फर्म रहेको छ । गर्बुजलाई मार्चको पहिलो हप्ता संबेदनशिल अवस्थामा अस्पताल भर्ना गरेका थिए भने मार्च ४ तारिख गर्बुज कोरोना संक्रमित भएको रिपोर्ट आएको थियो ।  लयर गर्बुजलाई कुन माध्यमबाट कोरोना संक्रमण भयो प्रष्ट भएको छैन तर गर्बुजको माध्यमबाट उनको पत्नी, छोरा छोरी र उनलाई बिरामी अवस्थामा गाडीमा अस्पताल पुर्याउने छिमेकी सहित कम्तिमा पनि ५० जनामा संक्रमण भएको गभर्नर कुमोले बताए । अहिले वेष्टचेस्टरमा ७ हजार ८ सय जना संक्रमित छन् ।

तस्बिर श्रोत : न्युयोर्क पोष्ट