समाचार

कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ ।

उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ ।

सरकारले अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब ९ करोड ऋण लिने भएको छ ।

सरकारले विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत् प्राप्त हुने २९ मिलियन अर्थात् ३अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायता पनि लिने निर्णय गरेको हो ।

एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम समेत सरकारले स्वीकार गरेको छ । सरकारले आर्थिक प्याकेजमा अन्य स्रोत भने आन्तरिक स्रोतबाट जुटाउने भएको छ ।

यसमा वार्षिक बजेट रकम रकमान्तर, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम प्रयोग हुने भएको छ ।

सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा भने संस्थानबाटै व्यहोरिने भएको छ ।