स्वास्थ्य

कोरोनाको इपिसेन्टरबाट

अच्युत सिग्देल / न्यूयोर्क

न्युयोर्कको कोरोना इपिसण्टरको नामबाट नवनाम प्राप्त गरेको Elmhurst Hospital को Emergency ढोकाबाट दक्षिण-पूर्वको ३०० मिटरको दुरीमा कोरोनाको सन्त्रास र न्युज च्यानलको प्रभावले पार्न सक्ने नकारात्मक ट्रमाबाट बच्न टि भि बन्द गरेर, सेल्फ़ क्वारेन्टाईनमा सुरक्षित वसेका थियौं ।

स्कूल कलेजहरू १ महिनाको लागि बन्द भएको थियो । करिव एक महिनालाई पुग्ने ग्रोसरी पहिल्यै नै मौजात भएकोले ख़ासै समस्या थिएन । हरिया सागसब्ज़ी किनेर दुई हप्ताको सुरक्षित सेल्फ क्वारेन्चाईन निश्चित ठानेका थियौं ।

शताव्दीमा एक पटक आउने यो भयावह दर्दनाक स्थितीको पूर्व अनुभव थिएन । नेपालको भयानक महाप्रलय भुकम्पको त्रासदीको अनुभव पनि थिएन ।

दिउँसोदेखि सॉझसम्म लगातार बजेको एम्वुलेन्सको साइरनले सामान्य अवस्थामा ४-५ घण्टालाग्ने Elmhurst Hospital को आकस्मिक कक्ष, प्राणघाती कोरोना प्रकोपले भयावह बनाएको सजिलै अनुमान गर्न सकिन्थ्यो । तर विश्वको व्यवसायिक राजधानी न्युयोर्क र शक्तिशाली देश अमेरिकामा कोरोनाले यस्तो भयानक स्थिती ल्याउन सक्छ भन्ने कल्पना बाहिरको कुरा थियो ।

सॉझ पख टिभी सूचना अनुसार एकदिनमा नै १३ जनाको मृत्यू भएको खबर आयो । एक जना मित्र अनिल सुव्वा पनि पर्नु भएको खबरले ज़मीन नै फाटे जस्तो भयो ।

सिएनएनको एल्महर्स्ट अस्पतालमा पॉचवटा मात्र भेन्टिलेटर उपलव्ध भएको र प्यासेजमा नै बिरामीको मृत्यू भएको खबरले भयावहको स्थिती पैदा गर्यो । नेपाल र बाहिर राज्यवाट सोधखोज हुन थाल्यो । एउटै घरमा वस्ने तल्लो र माथिल्लो तल्लाको आवाज जावत बन्द भयो । लबीमा भएको मेल बक्समा जान वच्चाहरूलाई प्रतिबन्ध लगाइयो ।

स्थितीले बिकराल रूप लिंदै जाला भनेर थप सर सफाईको लागि आवस्यक सामान अर्डर गरियो । स्थानीय पसलहरूमा डिटोल, हातधुने सावुन, सिनेटाईजर र पेपर प्रोडक्ट सकिन थाले । अलिअलि भएकाहरू धेरै महंगो भयो ।

घरमा बाहिरबाट आउने हरेक चिजहरू क्लोरक्सले सफा गरियो । अस्पताल र ईमर्जेन्सी वार्डको ढोका भएर आउने झ्याल पूर्णतः बन्द गरिए । लेमन पानी र सुन्तला खान थालियो । २४ सै घण्टा चौंकना रहेर मृत्यूको मुख टाल्ने हर सम्भव प्रयत्न भयो ।

सेल्फ क्वारेन्टाईनको पहिलो दिन मुभी, यू ट्वुव हेरेर बित्यो । दोश्रो दिनबाट न्युयोर्कले आयोजना गरेको जनगणना “सेन्सस २०२०” मा भोलेन्टिएर भएर फलोअप गर्नेकाम गरियो । सेन्ससको सहभागिता शिक्षाप्रद भयो । जसको माध्यमवाट न्युयोर्कको कुनाकुनासम्म पुगियो । धेरै बिरामी परेको र कयौंको कोरोनाबाट मृत्यू भएको जानकारी पाईयो । सबैलाई सुस्वास्थ्यको कामना गर्दै परिस्थितिलाई सहज बनाउन केही हदसम्म सफल भइयो ।

आफू भलो त जगत भलो, जान हो तो जहान हे, भन्ने उखान सम्झँदै, सेल्फ मोटिभेसन, परिवारिक मनोरन्जन, ख्लाल ठट्टा र मुभिमा पारिवारिक जीवन बिताउन थालियो ।

तेश्रो दिन करिव नौ बजेको थियो होला । हामी सबैसँगै थियौं, ब्रेकफाष्ट सकिएको थियो । नजिकको मित्र पारिवारिक नातेदार भाईको फ़ोन आयो; “दाई, बहिनी बिरामी भएर ओछ्यान परेको हप्ता भयो । आजसम्म मैले स्याहारेको थिएँ । शरिर भत्भती पोलेको छ, हात खुट्टा चल्न नसक्ने भएको छ । गाडीले किचेजस्तो दुखेको छ । दाई मैले नसक्ने भएँ । म अति नै कमजोर भएको छु । मलाई ज्वरो आएको छ” । मैले ‘सबै लक्षण कोरोना नै नहुने र सकरात्मक सोच राख्न’ भनें । चिन्ता नलिन र परेको वेला आफु सहयोग गर्न खुल्ला रहेको ढाडस दिएर हौसला बनाउन हर-सम्भव प्रयास गरें ।

जबकि हामी शतप्रतिशत निश्चिन्त थियौं कि हामी कुनै परिस्थिति आए पनि बाहिर जादै जाने छैनौं भनेर। बढ्दो विपी र भर्खर सुरू भएको सुगरलाई कोरोनाले विशेष मन पराउने गरेको सूचना पढ्दै गरेको सानो छोराको ऑखामा हेरें । उसले पूर्व मृत्यूको सन्देहात्मक सूचनाको आभाष पाएको ऑखाले तिक्तता पूर्वक हेरिरह्यो। सोफामा बसेर यू ट्युव हेरिरहेकी श्रीमतीको ऑखाभरि मृत्यु सन्देहको त्रास देखियो । उनको गह टम्म भरिएर आए । मेरा स-साना वार्तालापमा चाख दिएर सुनेको जेठो छोराको अनुहार निचोरिएर आयो ।

जानी जानी मृत्युको मुखमा जाने त्यो बीर गोर्खाली मन ममा पनि रहेन । सकेसम्म सम्झाऊनु, बिरामीको गिरेको आत्मबल उठाउनु र “म छँदै छु चिन्ता नगर” भन्ने वाईफाई आश्वासन बाढ्ने निधो नगरेको पक्कै हैन ।

मैले आफ्नै अनुभव सम्झें…यो बिरानो मुलुकमा कोही नहुँदा मलाई सहयोग गर्ने साथीहरू सम्झें । एक महिनासम्म घरमा तलव पुऱ्याउन पठाउने हाकिम र सहकर्मी सम्झें । आफूलाई हस्पिटलमा भेट्न आउने समुदायको एक एक अनुहार सम्झें । मैले टोलाएर सुस्केरा हाल्दै श्रीमतीलाई हेरें, उनले के कुरा बुझिन र भान्सा तिर लागिन् ।

मैले बिरामीलाई पुन: कल गरें । उनी सिसा जस्तै चकनाचुर टुटेका थिए । मैले चिन्ता नगर म आउदैछु भने, उनले मलाई हर हालतमा बाहिर ननिस्कन अनुरोध गरें । खाना अर्डर गरिदिन अनुरोध गरें । मैले कारोनाको लक्षण, ज्वरोको असर अनुमानित परिस्थितीको हिसाव लगाएँ । उनको घरको जिपकोड हानेर सरसर्ति रेष्टुरेन्ट खोजें । बजारमा बिरामीले खान लायकको केही पाइएन । बिहानको ब्रेकफास्टको खाना खाईसकेका उनीहरूलाई बेलुकाको डिनर आफूले नै व्यवस्था गरेर दिउँसोको खाजाको लागि हल्का खाना अर्डर गरिदिएँ ।

घरमा बनाएको होममेड मास्क, पोलोराईड ठूला फ्रेमको चस्मा, हातमा ग्लोव्स, सेनेटाईजर, रविङ अल्कोहल स्प्रे बोटल लिएर पार्किङमा राखेको गाड़ी झिकेर पूर्ण सुरक्षित बिधीकासाथ खाना बोकेर हामी निस्कियौं । नर्सरीदेखि नै यतै पढेको बच्चासँग राय लिने ऑट हामी दुबैमा रहेन । उनीहरू हामीसँग हल्का डराएका थिए । उनीहरूको नजरमा हाम्रो निर्णय शतप्रतिशत गलत थियो । मर्दा र पर्दा चाहिने हाम्रो सँस्कार न हो अलि कति सिक्न सक्छन भन्ने आस थियो ।

जब हामी बाहिर निस्कियौं बाहिर बिल्कुल फरक थियो । बाटोमा गाड़ी गुडिरहेका थिए । मानिसहरू विना मास्क घुम्दै थिए । कपिपय खॉदै, पिउदै हिडिरहेका थिए । हामी मुखामुख गर्यौ । मृत्यूको मुखमा तानिदै गएको आभास घट्दै गयो । न्युयोर्कको विसाल जनघनत्व र रोगको लक्षण देखिन एक हप्तालाग्ने र त्यो वेलासम्म धेरैलाई सरिसक्ने कारण नै यो रोगले महामारीको रूप लिएको हो ।

दुई तीन दिन बितेको छ, हाम्रा ती प्रियजनको स्वास्थ्यमा सुधार भएको छ । बिरामीको लिष्टमा अरू एक दुई नजिकको परिवार थपिएका छन् । अति आवस्यकता अनुसार थर्मोमीटर, परास्टामोल, टाएनोल, दुध, पानी र फलफुल बोकेर घर-घरसम्म जाने हाम्रो दिनचर्या पनि थपिएको छ । ढोका बाहिर सामान राखिदिएर आएपछि आफ्नो घर बाहिर नै अल्कोहल सिनेटाईज भएर भित्र पस्नु, सावुन पानीले हात अनुहार, नाक धुनु, हर सम्भव सुरक्षित उपाय अपनाइएको छ । आखॉले नदेखिने भाइरसले कुनै कुनै दिन समात्लाकि भन्ने चिन्ता र सचेतता दुबै त छ । अलिकति खोकी लाग्यो वा जिऊ दुखे बच्चाहरूले शंका गरिहाल्ने अवस्थामा पनि छौं । रविङ अल्कोहलले कपडा स्प्रे गर्नु । छाला निस्किने गरी सावुन पानीले मिचिमिची हात धुनु सामान्य बनेको छ ।

हामी लगाएत मिलिएन्स अमेरिकन कामबाट अपदस्थ भएका छन् । आम्दानी हुने काम छैन, आउने बाटो छैन । गरेको कामबाट अनईम्प्लोईमेन्ट ईन्स्योरेन्स क्लेम गर्न भनिएको छ । पेचेकदेखि पेचेक लिएर बॉच्नै । अलि अलि बेचेको पैसा नेपाल पठाउने बैंकमा १-२ हज़ार भन्दा ज़्यादा सेभिङ नराख्ने र क्रेडिट कार्डमा नै दैनिकी चलाउने हाम्रो आधा नेपाली आधा अमेरिकन लाइफस्टायलमा ठूलो संकट परेको छ ।

तर जहाँ समस्या त्यहाँ उपाय भने झैं आफ्ना प्रिय दुईचार जनाले खर्च पर्चको चिन्ता लिनु नपर्ने ढाढ़स दिनु भएको छ । दुईचार महिनाको लागि अन्नपानी, राशन र घर भाडा सुरक्षित छ । त्यसपछि ज़िन्दगी पून: सुचारू भैहाल्ने छ । नभए भगवान भरोसा ।

पछिल्लो सूचना अनुसार अहिलेसम्म नेपाली समुदायबाट एक जनाको मृत्यू, अर्का केही भेन्टीलेटर र केही स्वास्थ्यलाभ गरी घर फर्किएको वाहेक त्यस्तो बिकराल संख्यामा बिरामी नभएको जानकारी छ । COVID – 19 बाट पोजिटिभको सँख्या पत्र पत्रिकामा आए जस्तै धेरै नै भए पनि । निको हुनेको सँख्या धेरै मात्रामा नै छ ।

न्युयोर्क सिटी र लङ आईल्याण्ड गरि अस्पताल भर्ना हुने नेपालीको सँख्या करिव ५०- ६० पुगेको सुनिएको छ । एउटै रूममा मिलेर बस्नेहरूमा पोजेटिभ रिज़ल्ट आएर आईसोलेसनमा राख्न समस्या परेको जानकारी आएको छ । हामी समुदाय मिलेर पहल एउटा ठूलो आईसोलेसनको खोजिमा छौं । त्यसको व्यवस्थापनको ठूलो चुनौती छ ।

भावी सन्ततीको सुनौलो भविष्य खोज्दै जीवनका सुनौला अवसर, पारिवारिक सुख र खुसी छाडेर बिदेशीएका तमाम नेपालीहरू अमेरिका जस्तो बिकसित देशमा कोरोना जस्तो भाईरस संक्रमणमा पर्नु । सिटामोल र थर्मोमीटरको अभाव झेल्न पर्नु । बिरामी परेर थलापर्दा पानी तताएर दिने मान्छे नपाउनु सायद यो एक जीवन लीला वा कर्मचक्र नै होला कि ?

हामी हरेक दिन सम्पूर्ण आफन्तजन र मित्रहरू  यथास्थानमा नै सुरक्षित रहनु होला भनि प्रार्थना गर्न थालेका छौं । भजन सुन्ने, कमेडी र हास्य व्यङ्ग्य जस्ता हल्काफुल्का मनोरन्जन लिने । सकरात्मक सोच्न थालेको छौं । स्वास्थ्यमा बिशेष ध्यान दिने ।आफू सुरक्षित रहने र अरूलाई सुरक्षित रहन प्रेरित गर्नु नै अहिलेको मुख्य काम रहेको छ ।जो कसैको सानो लाहपर्वाहीले हजारौं जनाको ज्यान जान सक्छ । सबैको सकुसलताको कामना । मृतक प्रति श्रद्धाञ्जली !