स्वास्थ्य

काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

काठमाडौं । स्थानीय सरकारले काठमाडौं महानगरपालिकाका असहाय तथा गरीब परिवारलाई राहत वितरण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत गरेसँगै राहत वितरणको बाटो खुलेको छ ।

महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले यस्तो मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बस्ने असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिले खाना, खाजा खान नपाएको अवस्थामा उनीहरुलाई निःशुल्क राहत उपलब्ध गराइने भएको छ ।

तर, यसका लागि उनीहरु असहाय भएको पहिचान गरिनेछ ।

अभिभावकविहिन, आय स्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थल अरुको सहायतामा रहेका व्यत्तिले मात्र यस्तो राहत प्राप्त गर्ने छन् ।

आयस्रेत नभएका, दैनिक गुजारा गर्न मुस्किल पर्ने र वडाले अतिविपन्नको वर्गमा राखी प्रमाािण्त गरेका व्यक्तिले समेत महानगरपालिकाबाट राहत पाउने भएका छन् ।

कोरोनाको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण अहिले दैनिक कमाएर खाने श्रमिक वर्ग समस्यामा परेका छन् ।

संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौं महानगरमा लामो समययता दैनिक ज्याला मजदुरी गर्दै आएका तथा काठमाडौंमा घर, जग्गा नभएका भरिया र मजदुरले समेत राहत पाउने भएका छन् ।