फिचर

पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

काठमाडौं । सम्पूर्ण विश्व कोरोना भाइरससँग जुधिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सरकारसँग हातेमालो गर्न आइपुगेका छन् ।

उनले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ती जारी गरेका छन् ।

जसमा उनले यस कोषमा आफ्नो तर्फबाट २ करोड दिने घोषणा गरेका हुन् । उनका अनुसार पूर्वराजाले हिमानी कोषलाई उक्त रकम दिनेछन् । हिमानी कोषले सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्नेछ ।

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा समेत गरेका छन् ।

उनको यो उदारताको सामाजिक संजालमा समेत खुलेर प्रसंशा भइरहेको छ । पूर्वराजाले कोरोना विरुद्धको अभियान अझ अझ प्रभावकारी बनाउनुपर्ने सुझाव समेत दिएका छन् ।

लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै उनले यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि नभएको उल्लेख गरेका छन् ।

महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै पूर्वराजाले चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पु¥याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले उच्च सराहना गरेका छन् ।