स्वास्थ्य

विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द

काठमाडौं । सरकारले विवादित बनेको कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ । सम्झौता अनुसार तोकिएको समयमा सामग्री आपूर्ति गर्न नसकेको भन्दै सरकारले सम्झौता रद्द गरेको हो ।

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका दौरान उनले यस्तो जानकारी गराएका हुन् ।

कोरोना भाइरसको परिक्षण तथा संक्रमणसँग मुकाविला गर्न विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यस समुहसँग खरीद सम्झौता गरेको थियो ।

सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार केही सामग्री नेपाल ल्याइ समेत सकेको छ ।

विना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिद सम्झौता भएको भन्दै आलोचना भएको थियो । मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरेर सामान ल्याइएको श्रेष्ठले जानकारी दिए ।

ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरिएको उनको भनाई छ । यस समूहले पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र सामान ल्याएको छ ।

मूल्य भने १८ प्रतिशत बराबरको तिरिएको थियो । बिहीबार दोस्रो खेप ल्याउनु पर्नेमा त्यो समयमा ल्याउने सम्भावना नदेखिएपछि सम्झौता रद्द गरिएको हो ।

उनका अनुसार ओम्नी समूहलाई कालो सूचीमा राख्ने निर्णय समेत भएको छ । यस समूहबाट ५ करोड धरौटीसमेत जफत गरिएको विभागको भनाई छ ।

विभागले बिहीबारबाट नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर बिहीबा प्रस्ताव आह्वान हुने भएको छ ।

यसबीचमा सस्तोमा सामान दिने भन्दै प्रचारमा उभिएका व्यापारीलाई प्रस्ताव हाल्न समेत सरकारले आह्वान गरेको छ ।