समाचार

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम  संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो ।

कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको खपत उल्लेख्य घटेको छ । जसले गर्दा मूल्यमा समेत गिरावट आइरहेको छ ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको १२ बजे रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मटितेलमा साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो ।

काठमाडौंमा अब पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा आएको छ ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको बाह्यतर्फको मूल्य  अब प्रतिलिटर ०.९५ डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।