स्वास्थ्य

स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

काठमाडौं । कोरोनाको नयाँ इपिसेन्टर बनेको स्पेनमा कोरोना प्रभावितको संख्या १ लाख नाघेको छ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको अमेरिका र इटली पछि स्पेनमा बढी मानिसलाई संक्रमण भएको छ ।

बुधबार यहाँ संक्रमितको आंकडा १ लाख नाघेको हो । बुधबार स्पेनमा ६ हजार २ सय १३ जना नयाँ संक्रमित फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

स्पेनमा कोरोना भाइरसको संक्रमण १ लाख २ हजार १ सय ३६ जनामा पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा डरलाग्दो गरी फैलिरहेको छ ।

स्पेनमा अहिलेसम्म ९ हजार ५३ जनाले ज्यान गुमाएका छन् । यो संख्या इटलीपछि बढी हो । स्पेनमा कोरोना संक्रमितमध्ये २२ हजार ६ सय ४७ जना भने उपचारपछि निको भइसकेका छन् ।

अझै ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यस मुलुकमा ७० हजार ४ सय ३६ जनाको उपचार भइरहेको छ ।