स्वास्थ्य

१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् ।

तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ ।

धार्चुला, रुपैडिहा लगायत क्षेत्रमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेका छन ।

त्यसो त नेपालमा रहेका भारतीय नागरिक समेत घर फर्किन नेपाल र भारतको सीमा नाकामा पुगेर अड्किएका छन् । तर, नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति यसअघि नै भइसकेको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले सीमा पारी आएका नेपालीलाई सोही स्थानमा १४ दिनको क्वारेन्टाइनमा नबसेसम्म नेपाल आउन नदिने निर्णय गरेको हो ।

सरुवा रोगको संक्रमण मुलुक भित्र फैलन नदिन यस्तो निर्णय गर्नु परेको सरकारको भनाई छ । भारतीय सीमा क्षेत्रमा आइपुगेकालाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।